काठमान्डौ । भोलि बैसाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारीमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता अहिले अहिले एकता प्रक्रियालाई अन्तिम टुङ्गो लगाउन संघन छलफलमा जुटिरहेका छन्।

नेकपाका शीर्ष नेताहरु पछिल्लो समय घोषणा गरिएको मितिलाई लक्षित गरी जिल्ला कमिटीहरुको एकीकरण टुङ्गो लगाउने प्रयासमा छन्। सोमबारका दिन कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी भएको हो।

जिल्ला कमिटीका अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरुको नाम टुङ्गो लगाउन शीर्ष नेताबीच आज (आइतवार) पनि शीर्ष नेताहरु विहानैदेखि छलफलमा जुटेका छन्।

यसअघि शुक्रबार दुवै अध्यक्षको परामर्शपछि महासचिव बिष्णु पौडेलले शनिवार बिहानै बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए। पौडेल आइतबार बिहानैदेखि शीर्ष नेताहरुसँग परामर्शमा छन्।

जनप्रतिनिधि पार्टीको कार्यकारी प्रमुख हुने बाटो खुल्दै

विभिन्न मापदण्डमा छलफल हुँदा पनि विशेष गरी पूर्व एमालेभित्र केपी ओली र माधव नेपाल समूहबीच सहमति हुन नसकेपछि जनप्रतिनिधिलाई जिल्ला नेतृत्वबाट बञ्चित नगर्ने समझदारी नजिक नेताहरु पुगेको स्रोतले जानकारी दिएको छ।

अध्यक्ष प्रचण्डको प्रस्तावमा ओली र नेपाल सहमत भएपछि जनप्रतिनिधिले पार्टीको कार्यकारी भूमिकामा पनि रहन पाउने समझदारी नजिक नेताहरु पुगेको स्रोतको दावी छ। त्यसो गर्दा जिल्ला अधिवेशनको मिति समेत तोकेर जिम्मेवारी दिइने छ।

अहिले जिल्ला नेतृत्व जिम्मा दिँदा कम्तिमा ६ महिनाको अवधि दिएर जिल्ला अधिवेशनहरु गरिसक्नु पर्ने म्याण्डेट दिन लागिएको स्रोतले जनाएको छ। पूर्व माओवादीमा भने कुनै पनि मापदण्डले काम नगर्ने भएकाले अध्यक्ष प्रचण्डले दिने नाम नै अन्तिम हुनेछन्। उनले बादल र नारायणकाजी श्रेष्ठ समूहलाई समेट्नु पर्नेछ।

पूर्व एमालेका अधिकांश तत्कालीन अध्यक्षहरु स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित छन्। तत्कालीन एमालेले पाउने भूगोलका ४७ जिल्ला अध्यक्ष तोकिँदा अब ओली पक्ष र नेपाल पक्ष लगभग हाराहारीमा हुनेछन्। केही संख्या ओली पक्षको बढी हुनेछ।

पार्टीमा केन्द्रीयता हावी भएका बेला प्रमुख नेताहरुबीचको सहमति नै अन्तिम विकल्प रहेकाले जिल्ला अध्यक्ष तथा सचिवहरुको चयनमा नेताहरु सहमति नजिक पुगेको केन्द्रीय सदस्य बिष्णु रिजालले बताएका छन्। उनले कमिटीहरुका अधिवेशनबाट नेतृत्व चयन भएर आउने प्रक्रियामा गएपछि कार्यकर्ताले आफ्नो नेता चयन गर्न पाउने भएकाले अहिले मुख्य नेताहरुको सहमतिको विकल्प नरहेको बताए।

पोलिटब्यूरो पनि बन्दै
यता, माधव नेपाल पक्षले माग गरे बमोजिम नेकपाको पोलिटव्यूरो कमिटी पनि गठन हुने भएको स्रोतले बताएको छ। यसबीचमा केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयको संरचना बनिसकेकोमा अब पोलिटव्यूरो पनि गठन गर्न नेताहरु सहमत भएका छन्। केन्द्रीय कमिटीको एक तिहाई अर्थात १५० को हाराहारीमा पोलिटब्यूरो बन्ने छ।

पोलिटब्यूरोमा पनि पूर्व माओवादीमा कुनै मापदण्डले काम नगर्ने भएकाले नेताहरुको समझदारीमा करीव ६० जना सदस्य तत्कालीन माओवादीबाट पर्ने सम्भावना देखिएको छ। पूर्व एमालेबाट भने तत्कालीन पोलिटब्युरोका सबै सदस्यहरु समेटिने छन्।

यसबीचमा विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, अग्नि खरेल महान्यायाधिवक्ता, सानु श्रेष्ठ प्रदेश ३ को सभामुख भएका कारण पार्टीको जिम्मेवारीमा छैनन्। पूर्व एमालेबाट ८० देखि ८२ जना पोलिटब्यूरो सदस्य बन्दा करीव २०–२२ जना नयाँ थपिने छन्। दुई पटक केन्द्रीय सदस्य भएको व्यक्ति मात्र पोलिटब्यूरो सदस्य बन्न पाउने नेकपाको बिधानमा उल्लेख छ।

नेकपाले मजदूर, किसानलगायत पेशागत जिल्ला कमिटीहरुलाई समेटेर उपत्यका विशेष प्रदेश कमिटीसमेत गठन गर्ने भएको छ। सो प्रदेश कमिटीअन्तर्गत जनवर्गीय संगठनहरु पनि समेटिने नेताहरु बताउँछन्।