मोरङ। पथरी शनिश्चरेमा एक महिला मृत फेला परेकी छन्। २८ वर्षकी रिना बस्नेतको शव उनी बस्ने डेरा कै अगाडि फेला परेको मोरङ प्रहरीले जनाएको छ।

छोरासँगै बस्दै आएकी उनी शुक्रबार बेलुका कन्सर्ट हेर्न भन्दै घरबाट निस्किएकी थिइन। राति अबेर कोठामा आएकी उनले मादक पदार्थ पनि सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।

उनको कोठामा वियरका बोत्तल फेला पारेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। बिहान मर्निङ वाकमा हिँड्नेहरुले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा प्रहरी पुग्दा उनलाई निर्वस्त्र बनाएर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। घोप्टो परेको अवस्थामा भेटिएको उनको शव भएको ठाउँमा रगत पनि देखिएको छ।

बस्नेतको बलात्कार पछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनका श्रीमान वैदेशिक रोजगारीमा गएका छन्।