डा. तुलसी गिरी

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी)ले मेची–महाकाली अभियान सुरु गर्दै


काठमाण्डौ -मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी)ले काठमाडौंसहित चार जिल्लाबाट मेची–महाकाली अभियान सुरु गर्दै छ । काठमाडौं, कञ्चनपुर, झापा र कास्कीबाट मंगलबार अभियानको एकसाथ सुरुवात गरिने भएको छ  ।

काठमाडौंको शान्तिवाटीकामा दिउँसो दुई बजे क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले अभियानको उदघाटन गर्नेछन् । देशभक्त गणतान्त्रिक मोर्चा (देजमो)का अध्यक्षसमेत रहेका सीपी गजुरेलले झापामा, स्थायी समिति सदस्य परी थापाले कञ्चनपुरमा र अर्का स्थायी समिति सदस्य रामसिंह श्रीषले कास्कीको पोखराबाट अभियान उदघाटन गर्नेछन् ।

फागुन २१ गते चितवनमा भेला भएर यो अभियान समापन गरिने देजमोका केन्द्रीय सचिवालय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए । उनले भने, ‘अभियानको क्रममा ठाउँ–ठाउँमा सभा गरिने छ र राष्ट्रियता तथा जनजिविकाका मुख्य एजेण्डा उठाइने छ ।’

मेची–महाकाली अभियानलाई देजमोको पहिलो राष्ट्रिय सम्मेलनको पूर्वतयारीको रुपमा लिइएको छ । जनआन्दोलन दिवसको सन्दर्भ पारेर आगामी चैत २४ गते देजमोले काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ ।